Breaking News

गठबन्धन सरकार फाल्न जरूरी भइसकेकाले आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीनिकट खेलकुद महासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै गठबन्धन सरकार फाल्न जरूरी भइसकेकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्।

उनले भने, पार्टीले सिट्ठी फुक्नेबित्तिकै आन्दोलनमा उत्रन मानसिकरूपमा तम्तयार रहन निर्देशन दिएका हुन्। उनले तीन दिनकै तयारीमा राष्ट्रिय आन्दोलनको तयारी गर्नुपर्ने हुनसक्ने बताए।

‘के मनमा राख्नूस् भने, तिमी छौ र पो म बाँचेको छु भन्ने एउटा गीत छ नि, देश छ र पो हामी छौं त नेपाल छ र पो हामी छौं त, नेपाल जोगाउन हामी परी आउँदा हरेक मूल्यमा हामी अगाडि बढ्दैनौं र१,’ पार्टी मुख्यालय च्यासलमा बसेको पूर्ण बैकठमा अध्यक्ष ओलीले निर्देशन दिँदै भने, ‘त्यसकारण हामीले आफूलाई आन्दोलनका निम्ति तयार राख्नुपर्छ। पार्टीले जतिबेला सिट्ठी बजाउँछ, खेलाडीहरू छरिएका हुनसक्छन्, सुइयँ सिट्ठी बजाएपछि लाइनमा बस्छन्, हामी त्यस्तै हो। पार्टीले सिट्ठी बजायो भने आन्दोलनको मैदानमा दौडने गरी, हामीलाई धेरै दिनको तयारी नहुनसक्छ, छोटो तीन दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनको तयारीमा उत्रनुपर्ने हुन सक्छ, यो मानसिकताका साथ जान जरूरी छ।’

गठबन्धन सरकारले जस्तोसुकै हमला गर्न सक्ने उनले बताए। जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको बताउँदै त्यसका लागि पनि तयार रहन निर्देशन दिए।

‘अहिले एउटा निर्णायक लडाइँ हामी लडिरहेका छौं, उनीहरू आतंकित किन छन् भने एक्लै त कोही लड्न सक्दैन, हामी एक्लै ८० सिट ल्याउँछौं। उनीहरू एक्लै भए भने २०, ३०, ४० सिट पुर्‍याउने कोही हुँदैन। समानुपातिकको भोट नहुने हो भने यिनीहरूको बेहाल हुन्छ, हामीसँग एक्लै लड्ने हो भने। त्यसैअनुसारको मानसिक तयारीमा रहन आग्रह गर्छु,’ उनले भने।

नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन देशका लागि अत्यन्तै हानिकारक रहेको उनले बताए।