Breaking News

भन्सार छलेर ल्याएका गाडीमा नेपाली नम्बर प्लेट राखेर चलाउने र बिक्री गर्ने गिरोह पक्राउ

भन्सार छलेर ल्याएका गाडीमा नेपाली नम्बर प्लेट राखेर चलाउने र बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले यसमा संलग्न ७ जनालाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

गिरोहले भारतबाट गाडी भन्सार छलेर नेपाल भित्र्याउने र त्यसमा नक्कली नम्बर प्लेट राखेर बेच्ने गरे‍को पाएको हो।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ५० वर्षीय मोख्तार अन्सरी, लोहरपट्टी नगरपालिका-६ बस्ने ४० वर्षीय जमजम भनिने अन्सारुल कवारी, ३७ वर्षीय अजिम राईन र २८ वर्षीय मोबारक अलि छन्।

त्यस्तै मनरा शिसवा नगरपालिका–६ बस्ने ३२ वर्षीय रोशनकुमार ठाकुर, जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धी बस्ने अविद नदाफ र धनुषाधाम नगरपालिका–६ बस्ने २८ वर्षीय पंकज शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।

अनुसन्धानको क्रममा भन्सार छलेर ल्याइएका चार वटा गाडी पनि बरामद गरेको छ। जसमा नेपाली नम्बर प्लेट राखिसकेको छ।

ती गाडीमा प्रदेश–२–०३–००१ च. ११४०, प्रदेश–२–०३–००१ च ०११०, प्रदेश–२–०३–००१ च ५४८७ र प्रदेश–२–०३–००१ च ३७३९ नम्बर राखिएको छ। यी नम्बरहरूका गाडीहरू यातायात व्यवस्था कार्यालय जनकपुर र यातायात व्यवस्था कार्यालय वीरगञ्जमा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं‌ एसपी मित्रबन्धु शर्माले जानकारी दिए।

तर यातायात व्यवस्था कार्यालय नारायणी विरगंजमा उक्त गाडीहरूको सवारी साधन दर्ता किताबमा माइक्रो बस र पिकअप गाडीको नाममा देखिएको छ। जबकि धनीहरू समेत अर्कै व्यक्तिहरू देखिएका छन्।

चोरीको तथा भन्सार छलीका उक्त गाडीहरू देखाइ नक्कली सवारी धनी किताब बनाएर बिक्री गरेको देखिएकाले पक्राउ परेकाहरूमाथि किर्ते तथा लिखित बदर भन्सार तर्फको कानुनी कारबाही अघि बढाइएको एसपी शर्माले बताए।

प्रहरी अनुसन्धानमा पक्राउ परेका मोख्तारले भारतीय व्यक्तिहरूसँग सम्पर्क गरी गाडीको डिल गर्थे। उनले हालसम्म ८ वटा गाडी डिल गरेर भित्र्याएको खुलेको छ। मोख्तारले नेपाली नम्बर प्लेट र ब्लु बुकको व्यवस्था समेत मिलाउथे।

जमजम भन्ने अन्सारुल कवारीले मोख्तार अन्सारीसँग सम्पर्क गरी भारतीय नम्बर प्लेटको गाडी खरिद गर्थे।

उनले प्रदेश–२–०३–००१ च ५४८७ नम्बरको गाडी अजिम राइनलाई बेचेका थिए। त्यसैगरी प्रदेश २–३–००१ च ०११० नम्बरको गाडी नौसाद शेखलाई र प्रदेश–२–०३–००१ च ११४० नम्बरको गाडी रोशकुमार ठाकुरलाई बेचेका थिए।

वैदेशिक रोजगारीबाट फर्किएका अजिम राइर्नले अन्सारुल कवारीसँग प्रदेश–०२–०३–००१ च ५४८७ नम्बरको गाडी १२ लाख रुपैयाँमा खरिद गरेका थिए। आरेक ट्राभल्सको संचालक समेत रहेका रोशनले अन्सारुल कवारीसँग प्रदेश–०२–०३–००१ च ११४० नम्बरको गाडी १५ लाखमा खरिद गरेका थिए।

सवारी चालकको काम गर्ने अविद नदाफ महोत्तरीको लोहरपट्टी बस्ने अख्तर नदाफको नातामा भिनाजु पर्नेसँग प्रदेश–२–०३–००१ च ३७३९ नम्बरको गाडी भाडामा चलाउन ल्याएका थिए।

साथी नौसाद नजिर विदेश गएपछि मोबारकले प्रदेश–०२–०३–०११० नम्बरको गाडी ८ महिनादेखि आफ्नो घरमा राखेका थिए। सो गाडी चालककै काम गर्ने पंकज शर्माले मोबारकसँग भाडामा चलाउन लिएका थिए ।