काठमाडौं । भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला भएको छ । विशेष अदालतले बुधबार शाहसहित यसअघि पुस ११ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका दुई जनाको सजाय निर्धारण गरेको हो । दुई जनाले भने सफाई पाएका छन् ।।
जसमा शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न अदालतले आदेश दिएको छ । यो प्रकरणमा पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्र प्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र बिगो बराबर जरिवाना अशुलउपर गर्न भनिएको छ ।ऐरी र बिशंखेले भने सफाई पाएका छन् । पूर्वडीआईजी शाहसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चारजनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो ।