२४ पुस, काठमाडौं । जर्मनीका फुटबल लेजेण्ड फ्रान्स बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ ।
उनको परिवारले जर्मन न्युज एजेन्सी डीपीएमार्फत स्टेटमेन्ट जारी गर्दै बेनबाउरको निधन भएको र त्यसबाट आफूहरु दु:खी भएको जनाएको छ ।
उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तीनमध्ये एक हुन् । उनी बाहेक ब्राजिलका मारियो जागोला र फ्रान्सका डिडियर डेसच्याम्पले पनि दुई भूमिकामा उपाधि जितेका थिए । त्यसमध्ये पहिलो जागोलोको केही दिनअघि मात्र निधन भएको थियो ।
‘डेर केइसर’ उपनामले परिचित बेकनबाउरले सन् १९७२ मा युरो कप पनि जितेका थिए । यस्तै दुई पटक बालोन डे ओर पनि जितेका थिए ।
मुख्यगरी डिफेन्समा खेल्ने उनले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेलेका छन् र बायर्नमा पनि खेलाडी र प्रशिक्षकको रुपमा लिग जितेका थिए ।
बायर्न छाडेपछि बेकनबाउरले अमेरिकी क्लब न्युयोर्क कोसमोसका लागि खेलेका थिए । जहाँ नर्थ अमेरिकन सकर लिगमा ब्राजिलका पेलेसँगै उनी पोस्ट ब्वाएको रुपमा थिए ।