काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनबिच सिट भागबन्डा हुँदा नेकपा एकीकृत समाजवादीको भागमा दुई सिट परेको छ ।
आइतबार उम्मेदवार छान्न एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसेको थियो । बैठकमा सम्भावित पात्रहरूबारे छलफल भए पनि निर्णय हुन सकेन ।
बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार बैठकले दुई उम्मेदवार छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ ।
उपमहासचिव समेत रहेको खतिवडाले भने– ‘आजको बैठकले हाम्रो पार्टीका तर्फबाट उम्मेदवार छान्ने जिम्मेवारी पार्टी अध्यक्ष, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल कमरेडलाई सर्वाधिकार दिएको छ।’
एकीकृत समाजवादीले पाएको दुई सिटका लागि प्रमेश हमाल, नरेन्द्र बस्नेत, गणेश विक लगायतको नाममा सचिवालय बैठकमा छलफल भएको थियो ।