Breaking News

नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता

काठमाडौँ । नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा जलश्रोत तथा सिचाई सचिव गोपालप्रसाद सिग्देलले र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले बिहीबार नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आपसी हित हुने गरी नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्न आवश्यक कदम चाल्ने, क्षेत्रीय व्यापारलाई वृद्धि गर्ने र दुई मुलुकबिच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशिय प्रसारणलाई उपयोग गरिने छ । यस्तै जलविद्युत आयोजनाको विभिन्न खण्डमा नेपाल र भारतको लगानी बढाउन उल्लेख छ ।

यस्तै नेपाल र भारतबिच अन्तरदेशिय प्रसारण लाइन आयोजनाको विकास यथाशीघ्र गरिने जनाइएको छ ।

सम्झौतामा भनिएको छ, दुवै पक्षबिच विद्युत् निर्यातको परिमाण १० वर्षमा १०,००० (दश हजारं) मे.वा. सम्म पुर्‍याउने तथा यसको लागि आवश्यक विद्युत् उत्पादन तथा प्रसारण संरचनाहरुको निर्माण र विकास गरिने छ । यस सम्झौताको अवधि २५ वर्ष रहेको छ र सम्झौता प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुनेछ । यस सम्झौता बमोजिम सम्झौताको अवधि वा द्विपक्षीय व्यापारको परिमाण थप गर्नु परेमा प्रसारण लाइनको क्षमताको आधारमा कुनै पक्षले पेस गरेको प्रस्तावको आधारमा नेपाल भारत विद्युत् क्षेत्रको सहकार्यको लागि गठित (Steering Committee/Joint  Working Group) ले गरे बमोजिम हुने छ ।

यस्तै परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरले कुशाहा–कटैया १३२ केभीको सेकेण्ड सर्किट, परवानीपुर–रक्सौल १३२ केभी सेकेण्ड सर्किट र मैनहिया–न्यू नौतनवा १३२ केभी प्रसारण लाइनको उद्घाटन पनि गरेका छन् ।

यस्तै नविकरणीय ऊर्जाको विकास र ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल बिद्युत् प्राधिकरण र एनटिपीसी भारतबिच पनि सम्झौता भएको छ ।