Breaking News

राष्ट्रियसभा निर्वाचनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच छलफल हुँदै

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच छलफल हुँदैछ । आज साँझ ५ बजे गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका साथै एमालेसहितको बैठक बस्न लागेको हो ।

आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको छलफलमा दिउँसो ३ बजे गठबन्धन बैठक गरेर साँझ एमालेसहितको बैठक बोलाउने सहमति भएको छ । मंगलबार र बुधवार बिहान बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथमै लिएर जाने विषयमा छलफल भएको थियो ।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई तीन–चार सिट दिएर जाने विषयमा कांग्रेस र माओवादीको तहमा छलफल भएको एक नेताले रातोपाटीलाई बताए । कांग्रेस र माओवादीबिच भएको छलफलबारे आज दिउँसो गठबन्धन सम्बद्ध जसपा र एकीकृत समाजवादीसहित बैठकमा छलफल हुने छ ।