काठमाडौं । आज बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाका सन्दर्भमा सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानविन गर्न निर्देशन दिएको हो ।
बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामहरि खतिवडाले श्रम मन्त्री र यातायात मन्त्रीको भूमिकामाथि छानविन गर्न निर्देशन दिएको बताए ।
त्यस्तै समितिले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका विरेन्द्र शाह र सुजन रावतका परिवारलाई थप क्षतिपूर्ति दिन र दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको उनले बताए ।
समितिले घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ ।