Breaking News

सिंहदरबार भित्रै प्रधानमन्त्री कार्यालय गेटमै अर्थनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्धनग्न प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सामान्य पोशाकमा सिंहदरबार छिरेका जाजरकोटका आकाश कार्की र पदम हमाल तथा कञ्चनपुरका दीपेन्द्र ऐरी प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए । ‘मान्छे मार्न पाइँदैन’, ‘नो एमसीसी’लगायत नारा लेखेका पर्चा आफ्नो शरीरमा टाँसेका थिए । कपडा खोेलेर उनीहरुले उक्त पर्चा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

शुरूमा त्यहाँ रहेका सुरक्षाकर्मी अन्योलमा परेपछि तत्काल थप प्रहरी आएर उनीहरूलाई पक्राउ गरेको हो । ढोकैअगाडि प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ कार्यालयमै थिए । उनीहरुलाई सिंहदरबार छिर्न कसले पास उपलब्ध गरायो भन्नेबारे खुल्न बाँकी रहेको डीएसपी सन्तोष तामाङले बताए ।