काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिअनुसार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहनेगरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र रहने भएका छन् ।
कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ र मधेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम र धनुषामा मतदान स्थल तोकिएको छ ।
यस्तै, वागमती प्रदेशका लागि श्री भुटनदेवी मा.बि. प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौडा र मकवानपुर, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की र लुम्विनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ तथा कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिमका लागि प्रदेशसभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ ।
यस्तै, तोकिएका मतदान स्थलमा प्रदेशसभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लावेग्लै मतदान केन्द्रहरु आयोगले जनाएको छ । तोकिएका मतदान केन्द्रहरुमा माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य हुनेछ ।