काठमाडौं । नक्कली शरणार्थी प्रकरणका आरोपी संविधानसभा सदस्य आङटावा शेर्पालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
शेर्पाले आफूलाई थुनामा राख्ने उच्च अदालत पाटनको आदेश बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शेर्पाको हकमा यस्तो आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका नेता शेर्पालाई १५ मंसिरमा उच्च अदालत पाटनले सदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो । त्यो आदेश बेरितको रहेको भन्दै शेर्पाले आफूलाई सामान्य तारिखमा छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
उच्च अदालत, पाटनले पछिल्लोपटक बालकृष्ण खाण र सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई १५ लाख, नरेन्द्र केसी र शमशेर मियालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी नबुझाएका कारण टेकनाथ रिजाल भने हालसम्म पनि थुनामै छन् ।
यस्तै, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा राख्न आदेश दिएको थियो । यस्तै, उच्च अदालतले लक्ष्मी महर्जन, टंक गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।