Breaking News

दमौली नजिक एक ट्याक्सी दुर्घटनाग्रस्त हुँदा पोखराका तीनसहित छ जना घाइते

तनहुँ सदरमुकाम दमौली नजिक शनिबार एक ट्याक्सी दुर्घटनाग्रस्त हुँदा पोखराका तीनसहित छ जना घाइते भएका छन्। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज ३७३२ नम्बरको ट्याक्सी पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ बुल्दीपुलमा दुर्घटना हुँदा पोखराका तीनसहित छ जना घाइते भएका छन्। घाइते हुनेहरुमा पैदलयात्री समेत रहेका छन् ।

ट्याक्सीको ठक्करबाट पैदलयात्री व्यास नगरपालिका–१ गल्वुवेशी बस्ने आठ वर्षीया नाहिशा गुरुङ र चार वर्षीया निहा गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उक्त दुर्घटनामा ट्याक्सी चालक पोखरा महानगरपालिका–१० बस्ने ४० वर्षीय गौतम गुरुङ, ट्याक्सीमा सवार व्यास नगरपालिका–१ गल्वुवेशी बस्ने २८ वर्षीया सपना अधिकारी, पोखरा महानगरपालिका–१० बस्ने ५७ वर्षीया हेमकला राई र ६४ वर्षीय विष्णुकुमारी गुरुङ घाइते भएका छन् ।

घाइतेमध्ये दुई पैदलयात्रीको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हेमकला र विष्णुकुमारीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी चालक गौतम र सपना अधिकारी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

उक्त ट्याक्सीले पैदलयात्रीलाई ठक्कर दिए पछि अनियन्त्रित भई सडकबाट अन्दाजी दुई मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।