लकडाउनको पर्दाभित्र राज्यसंयन्त्रबाटै भष्ट्राचार

अनुसन्धान गरी कार्वाही गर्न माओवादी केन्द्रको माग (विज्ञप्तीसहित) सड्यन्त्रकारी योजना विरुद्ध आन्दोलनको चेतावनी

६ जेठ, कैलाली । विश्वव्यावी कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा विश्वभरका मानिसहरु जुटिरहेको बेला कैलाली लगायत देशका धेरै ठाउँमा राज्य संयन्त्रकै बद्नामी हुने गरी सरकारी कर्मचारीको मिलेमतोमा भ्रष्टाचारी, बलात्कारी, दलाली जस्ता जघन्य अपराधलाई संरक्षण गर्ने र कमाउ धन्दा चलाउने जस्ता कुकार्य भैरहेको भन्दै नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले विरोध जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश ईन्चार्ज रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशको संयुक्त हस्ताक्षरमा आज जारी गरिएको विज्ञप्तीमा त्यस्तो बताइएको हो ।

उक्त विज्ञप्तीमा कैलालीको गौरीगंगामा काठ कटानको विषयमा आएको भ्रामक समाचारको श्रोत दलाल सरकारी संयन्त्रका मानिसहरुको समूहद्धारा घुस खान नपाएको आक्रोशमा रचित इमान्दार मानिसलाई फसाउँने प्रपञ्च भएको तर्क सहित सत्य, निष्पक्ष र सन्तुलित रुपमा लकडाउनको अवस्थामा भइरहेका दलाली, तस्करी, बलात्कारी विरुद्ध समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई अनुरोध समेत गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘काठ कटानीको विषयलाई लिएर मध्येराति नसामा मातिएका, आफुलाई ‘घुमुवा प्रहरी र पत्रकार भन्ने’ ले स्थानीयसँग एक लाख घुस मागिरहेको अवस्थामा सामाजिक अगुवा समेत रहेका हाम्रो पार्टीका प्रदेश सचिवालय सदस्य क. जगत आउजी ‘कैलाश’ ले घुसको विरोध गरी उनीहरुको योजना असफल पारेको आक्रोशमा राज्य संयन्त्रका दलाल एवं तस्करहरुले उहाँको नाम समेत जोडेर मिडियामा गलत सूचना दिई बद्नाम गरिएको विषयमा हाम्रो ध्यानाकर्ष भएको छ ।’

राज्यका भ्रष्ट मानसिकताका कर्मचारी सहितको समूहले लकडाउनको पर्दाभित्र रहेर नागरिकलाई सास्ती दिने, अपराधीक घटनालाई प्रोत्साहन गर्ने, जनआवाज दमन गर्ने काममा कमाउको उद्देश्य सहित लागेको भन्दै माओवादी केन्द्रले त्यसमा गम्भीर ध्यान पुर्याउन सरकारलाई सुझाव समेत दिएको छ ।

त्यसैगरी विज्ञप्तीमा अगाडी भनिएको छ–‘काठ कटानको घटनाबारे सत्य, तथ्य र निष्पक्ष अनुसन्धान गरी जाँड खाएर मध्येराति घुस माग्ने घुमुवा प्रहरीनामधारी दलाल समूहमाथी गम्भीर अनुसन्धान, पहिचार र कडा कारबाही गरियोस् । कानुनी राज्यको अपमान गर्ने, सरकारी कर्मचारीको नाममा जनतामा आतंक फैलाउने कार्य तत्काल बन्द गर्न तथा नागरिकमा सुव्यवस्थाको प्रत्याभूति गर्ने वातावरण बनाउन सरकार समक्ष जोडदार माग गर्दछौं ।

सरकारी कर्मचारीको नाममा नागरिकमा आतंक फैलाउने दलालीमा लिप्त समूहलाई कार्वाही नगरि उनीहरुकै इसारमा राज्य संयन्त्र इमान्दार मानिसहरुलाई फसाउने खालको गलत निर्णय, जालझेल र सड्यन्त्रकारी योजनामा लागेमा त्यसको जनताहरु एक भएर विरोध गर्ने र पार्टीको समेत समर्थन रहने भन्दै माओवादी केन्द्रले सचेतन चेतावनी समेत दिएको छ ।

बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ……                     मितिः २o७७, जेष्ठ ५ गते

 

      नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 
  सुदूरपश्चिम प्रदेश समिति

प्रेस–विज्ञप्ती लकडाउनको पर्दाभित्र राज्य संयन्त्रको भ्रष्टाचारी, दलाली विरुद्ध एक हौं ! विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आम–जनसमुदाय जुटिरहेको अवस्थामा लकडाउनको पर्दाभित्र भ्रष्टाचार, कालाबजारी, दलाली, बलात्कार जस्ता जघन्य अपराधमा राज्य संयन्त्रको संलग्नता बढ्नु लज्जास्पद छ  । कैलालीको गौरीगंगामा काठ कटानीको विषयलाई लिएर मध्येराति नसामा मातिएका, आफुलाई ‘घुमुवा प्रहरी र पत्रकार भन्ने’ ले स्थानीयसँग एक लाख घुस मागिरहेको अवस्थामा सामाजिक अगुवा समेत रहेका हाम्रो पार्टीका प्रदेश सचिवालय सदस्य क. जगत आउजी ‘कैलाश’ ले घुसको विरोध गरी उनीहरुको योजना असफल पारेको आक्रोशमा राज्य संयन्त्रका दलाल एवं तस्करहरुले उहाँको नाम समेत जोडेर मिडियामा गलत सूचना दिई बद्नाम गरिएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्थानीयसँग बुझ्दा समेत उक्त घटनासँग क. कैलाश माथीको आरोपमा कुनै कसुर देखिदैंन । उहाँ लामो समयदेखि सामाजिक दलाल व्यवस्था विरुद्धको राजनैतिक आन्दोलनमा होमिएका, सुशासन र सामाजिक न्यायको पक्षधर योद्धा हुनुहुन्छ ।

यसरी घुस खान नपाएकै कारणले एक देशभक्त, इमान्दार, समाज सुधारक अगुवाको प्रतिष्ठामा आँच आउने गरी कुप्रचारको काण्ड रचिनु सामाजिक न्याय प्रणालीमाथीको गम्भीर अपहरण समेत हो । त्यस्तो कुप्रचार तथा गलत सूचनाका विरुद्ध कानुनी कारबाही गरियोस् । त्यस विषयमा प्रकाशित समाचार श्रोत एकतर्फि र दलाल कर्मचारीको सड्यन्त्रबाट आएको प्रष्ट देखिएकाले घटनाको सत्य, तथ्य बुझेर बेकसुर मानिसको स्वाभिमानमा आँच नआउने गरी दलाली, भ्रष्टाचारी, तस्करी जस्ता घटनाहरुको प्रदाफाँस गर्न स्वतन्त्र एवं जनआवाजका न्यायमुर्ति ‘आम सञ्चार माध्यमहरु’ र आदरणीय पत्रकार मित्रहरुमा हामी विशेष अनुरोध समेत गर्दछौं ।

अत्यमा, कैलाली मात्र नभैं अहिले राज्यका भ्रष्ट मानसिकताका कर्मचारी सहितको समूहले लकडाउनको पर्दाभित्र रहेर नागरिकलाई सास्ती दिने, अपराधीक घटनालाई प्रोत्साहन गर्ने, जनआवाज दमन गर्ने काममा कमाउको उद्देश्य सहित लागेको घटना क्रमले पुष्टि गरेको छ, त्यसमा गम्भीर ध्यान पुर्याउन हामी सरकारलाई सुझाव पेश गर्दछौं । साथै उक्त काठ कटानको घटनाबारे सत्य, तथ्य र निष्पक्ष अनुसन्धान गरी जाँड खाएर मध्येराति घुस माग्ने घुमुवा प्रहरी नामधारी दलाल समूहमाथी गम्भीर अनुसन्धान, पहिचार र कडा कारबाही गरियोस् ।

कानुनी राज्यको अपमान गर्ने, सरकारी कर्मचारीको नाममा जनतामा आतंक फैलाउने कार्य तत्काल बन्द गर्न तथा नागरिकमा सुव्यवस्थाको प्रत्याभूति गर्ने वातावरण बनाउन सरकार समक्ष जोडदार माग गर्दछौं । अन्यथा गलत निर्णय, जालझेल र सड्यन्त्रकारी योजनाका विरुद्ध जनताको आन्दोलनमा हाम्रो पार्टीको समर्थन रहने निश्चित छ ।

अभिवादन सहित !

  क. लोकेश रंगनाथ ढकाल
पोलिटव्यूरो सदस्य तथा प्रदेश संयोजक
केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज