पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढंगले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
‘पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ । तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भएपनि कार्यान्वयन भएको छैन’ उनले भने ।
गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापाले बताए । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए ।
पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पार्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उनको भनाइ छ । तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षा विपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उनले बताए ।
यस्तै, महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले काम गर्न नसके हटाउन सक्ने हिम्मत कांग्रेससँग हुनुपर्ने बताए । कांग्रेसकै सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म प्रधानमन्त्रीले काम गर्न नसकेको लगाए ।
‘यो एक वर्षभित्र धेरै काम हुन सकेन’ उनले भने, ‘तपाईसँग मौका छ । यत्तिको स्थिरता हुँदैगर्दा र अनुकूलता हुँदै गर्दा गर्नुपर्ने काम तपाईं गर्नुहुन्छ भने तपाईंलाई प्रधानमन्त्रीको रुपमा राखिराख्छौं, तपाईलाई मद्दत गरिराख्छौं, तपाईं काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पु¥याउँछौं भनेर भन्न सक्नुपर्छ ।’ प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको उनको भनाइ थियो ।