नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजजनिक गरेको वित्तिय स्थितिअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ भने आयात ३.८ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ ।

नेपाल सरकारको खर्च रु.३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको बैंकले जनाएको छ । बैंककाअनुसार विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको बैंकको भनाइ छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा थियो ।

समीक्षा अवधिमा चालु खाता रु ९६ अर्ब ३८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३७ अर्ब ७९ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दशमलव ६ प्रतिशतले कमी आई रु एक अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु तीन अर्ब ६४ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ४२ करोड ९२ लाख रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ ।

आर्थिक वर्ष २०८०÷८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई रु पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलब सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलब चार प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

चालु आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दशमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलब नौ प्रतिशतले घटेको थियो ।