Breaking News

रुसी सेनामा कार्यरत एक नेपालीले देशको परिस्थितिका कारण आफूहरू उच्च जोखिम मोलेर गएका हौं

काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपालीले देशको परिस्थितिका कारण आफूहरू उच्च जोखिम छ भन्ने थाहा हुँदाहुदै स्वेच्छाले रुस आएको बताएका छन् ।

‘डायमण्ड सी म्याग्देली’ फेसबुक एकाउण्ट रहेका म्यादी बेनीका ती नेपालीले देशमा शक्तिको वरिपरि रहेका मुठ्ठीभरका व्यक्तिको जगजगीका कारण आफूहरू जोखिम मोलेरै रुसी सेनामा भर्ती भएको बताएका छन् । तर यसमा कुनै पश्चाताप नभएको उनले सञ्जालमा उल्लेख गरेका छन् । लेखाइअनुसार उनी माओवादी पूर्वलडाकु हुन् । १० वर्ष युद्ध लड्दा पनि राज्यको चरित्र बदल्न नसकेकोमा उनले असन्तुष्टि पोखेका छन् ।

‘हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमूल परिवर्तनका लागि बन्दुक बोकेर झण्डै एक दशक रगत–पसिना बगाइयो । अंशमा केही परिवर्तन त भयो, तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन’, उनले लेखेका छन्, ‘परिणामतः आज पनि सत्ता–शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ । परिवर्तनको लागि दशकौँ योगदान गरेका हजारौँ योद्धा आज परिवार पाल्नकै लागि विदेशका गल्ली–गल्लीमा भौँतारिनु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ । यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ ।’

उनले पहिले सशस्त्र युद्धमा लागेकोमा र अहिले रुसी सेनामा सहभागी हुनुपरेकोमा पश्चाताप नभएको बताएका छन् । अहिलेको यात्रामा पाइला–पाइलामा जोखिम भए पनि हार नमानेको उनले जनाएका छन् । ‘न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ’, उनले लेखेका छन्, ‘स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला–पाइलामा चुनौती त छ नै यद्यपि हार कहिल्यै मानिँदैन। गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ ।’