सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

२७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।

त्रेता युगमा गुरु विश्वामित्र सहित मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकले आयोजना गरेको धनुष यज्ञमा अयोध्याबाट भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ ।

जहाँ राम र सीता एकअर्काप्रति आकर्षित भएको र सीताले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको
छ ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन बुधबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो ।

त्रेता युगमा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाह भएको दिनको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्ने छ ।