Breaking News

लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु १८ जना बिरामी

पोखरा । लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए । भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो ।  बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि  उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाई छ ।

भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।