काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।
‘आगामी एक वर्षपनि यही सरकारले निरन्तरता पाउँछ’, प्रचण्डको भनाइ उदृत गर्दै प्रशिक्षणमा सहभागी एक नेताले भने, ‘आगामी आर्थिक वर्ष सरकार र विकासको मोडालिटीमा सरकारले ध्यान केन्द्रित गर्छ । अब म के के गर्छु हेर्दै जानुहोला ।’
करिब डेढ घण्टा प्रशिक्षण दिएका उनले सरकारले गरेको काम, अभियानको उद्देश्य, पार्टीको आगामी योजना र कार्यक्रमबारे धारणा राखेका थिए ।
कार्यक्रममा नेता तथा कार्यकर्ताले क्षेत्र नं. ६ लाई पार्टीले उत्पीडनमा पारेको, २०७४ मा हिमाल शर्माको उम्मेदवार क्यानसिल गरी झक्कु सुवेदीलाई ल्याएको, शर्मालाई राष्ट्रिय सभा सदस्य बनाउने प्रतिबद्धता पुरा नगरेको, खानेपानी, विकास निर्माणमा सरकारले ध्यान नदिएको गुनासो पोखेका थिए । साथै आगामी दिनमा विषयमा कार्यकर्ताको भावना बुझेर काम गर्न प्रचण्डसँग आग्रह गरेका थिए ।