Breaking News

भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जित हासिल

भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जित हासिल गरेको छ। भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस-आईले ६५ सिट मात्र जितेको छ।

त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस-आईले ६९ सिट जितेको छ।

छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस-आईले ३२ सिट जितेको छ।

भाजपाले यी तीन प्रदेशमा जित हासिल गरेसँगै कंग्रेस-आईलाई धक्का लागेको छ। सन् २०१८ को निर्वाचनमा यी तीनै प्रदेशमा कंग्रेस-आईले जित हासिल गरेको थियो।

तेलंगना राज्यमा भने कंग्रेस-आईले भारत राष्ट्र समिति (बिआरएस) को दस वर्षे सत्ता अन्त्य गरेको छ।

तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस-आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ।

एक वर्षपछि, सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ। लोकसभाले संघीय सरकार बनाउँछ। अहिले भएका चुनावले नरेन्द्र मोदी नेतृत्वको भाजपाले तेस्रो पटक बहुमतसहित सरकार बनाउने बलियो सम्भावनातर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।