मंसिर १६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताउनुभएको छ ।
शनिबार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउनुभयो । उहाँले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताउनुभयो । उहाँले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरुले सम्पन्नता भएको देश गरिव रहनसक्ने देश नभएको जिकिर गर्नुभयो ।