Breaking News

‘म कम बोल्ने, काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्धको जन्मस्थल लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । शनिबार पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय एकताका साथ एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताएका हुन् ।

पूर्ववक्ताहरुले आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि उनले लुम्बिनीबाटै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताएका हुन् । पार्टी केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीप्रति लक्षित गर्दै देउवाले भने, ‘मिठा कुरा गरेजस्तो काम गर्न सजिलो छैन ।’ उनले आफू कम बोल्ने र काम धेरै गर्ने मान्छे भएको समेत बताए ।

सभापति देउवाले भने, ‘म राम्रो बोल्ने मानिस होइन, तपाईंहरूलाई थाहा छ । कम बोल्ने, काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ ।’ नेता भण्डारीले नेतृत्वमा बस्नेहरूकै कारण देश बर्बादीतिर गएको आरोप लगाएका थिए ।

पाँच पटकसम्म प्रधानमन्त्री र पटक–पटक पार्टी सभापति भएका देउवालाई पार्टीका नेताहरुले कांग्रेसमा भएको गुटगत राजनीतिले पार्टी कमजोर बन्दै गएको बताएका थिए ।

सभापति शेरबहादुर देउवा