Breaking News

गाउँपालिकाले एकसाताभित्र माग सम्बोधनमा पहल गर्ने सहमतिपछि अनसनरत गुरुङले अनसन तोडे

१० मंसिर, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा पाँच दिनदेखि आमरण अनसन बसेका रमेश गुरुङ र गाउँपालिका प्रतिनिधिबिच अस्ति मंसिर ८ गते सहमती भएको छ । अनसरत गुरुङले गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल गाउँपालिकाको केन्द्र रहेको वडाको स्वास्थ्य चौकी स्तरोन्नती गरि बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका गुरुङ आमरण अनसनमा बसेका थिए ।

गाउँपालिका प्रतिनिधि र गुरुङबीच भएको वार्तामा गुरुङले राख्नुभएको मागलाई एकसाताभित्र कार्यपालिका बैठक बोलाएर सम्वोधनका लागि पहल गर्ने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रतिबद्धता जनाएपछि गुरुङले अनसन तोडेका थिए । अनसनरत गुरुङ र गाउँपालिका बिच भएको लिखित सहमतीमा कार्यपालिका बैठकको म्याण्डेटलाई जतिसक्दो चाँडो गाउँसभा डाकेर अनुमोदनका लागि समेत पहल गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

सहमतीपछि गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष पुन सहित बालिकाको हातबाट दहि खुवाएर गुरुङले अनसन तोडेका थिए। गुरुङले गत सोमबार गाउँपालिका कार्यालयमा आफ्नो दुई बुँदे मागपत्र दर्ता गरी आमरण अनसन सुरु गरेका थिए मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बनाउनुपर्ने र गाउँपालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा गाउँपालिकाका बेरोजगार युवायुवतिलाई तालिम प्रदान गरेर रोजगारको व्यवस्था गर्न माग गरेका थिए ।

संघीय सरकारले तीन बर्ष अघि हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना रघुगंगा गाउँपालिकामा अहिलेसम्म पनि अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित देखिएको छ ।

लेखक : कृष्णबहादुर कार्की