Breaking News

नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार

१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।

कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २(०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए ।

ढुंगा लागेर भट्टराई चढेको गाडीको अगाडिको सीसा फुटेको छ । ‘उहाँ कार्यक्रम सकेर फर्किसक्नुभएको थियो, डेढ किलोमिटर पर होटलमा बसेका पहिचान पक्षधरले डिस्टर्ब गरे, एक जनाले परबाट गाडीमा ढुंगा हान्दा गाडीको सीसा फुटेको छ ।

भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरुको खोजी भइरहेको डीएसपी लिम्बुले बताए ।

आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए ।

प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो ।

यसअघि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार सवारीमा पनि पहिचान पक्षधर कार्यकर्ताले आक्रमण गरेका थिए ।

नेता भट्टराईले आफू र एमालेप्रति निरन्तर आक्रमण भइरहेकामा दुःख व्यक्त गरे । पहिचानलाई लिएर उठेका आवाजलाई प्रदेशसभामा वैधानिक ढंगले राख्ने अधिकारको सदुपयोग गर्न उनले आग्रह गरे ।