Breaking News

जलजलाको मल्लाजमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन

पर्वत । पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । जलजला ३ वडा नम्बर मल्लाज स्थित विद्याज्योती माविमा आजदेखि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो ।

जलजला गाउँपालिकाको आयोजनामा भएको खेलकुद प्रतियोगिता भोलि शुक्रबार सम्म संचालन हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले उद्घाटन गरे । प्रतियोगिताले विद्यार्थीहरुमा भएको खेल क्षमताको विकास र प्रतिभा प्रष्फुटनमा टेवा पुग्ने उनले बताए । जलजलाले शैक्षिक क्षेत्रमा हुन थालेको सुधारको अभियानले नयाँ आशा संचार गरेको प्रमुख विकले बताए ।

जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बोल्ने क्रममा खेलकुदलाई शिक्षासँग जोडने योजना अनुसार यसवर्ष शैक्षिक क्यालेण्डर अनुसार पर्वत जिल्लामै पहिलोपटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको बताए। ‘‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले थालेको अभियानमा खेलकुदलाई पनि जोडेका छौं,’’ अनुशासित, लगनशिल, मेहनती जनशक्ति उत्पादन गर्न खेलकुदले सहयोग पुग्ने आशा व्यक्त गरे ।

प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि र ४ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स, कबड्डी, र भलिबल विधामा तीनसयजना भन्दा बढी खेलाडी विद्यार्थीहरुले सहभागिता जनाएको जलजा पालिकाका शिक्षा शाखाले बताएको छ ।

प्रत्येक इभेन्ट,बिधागत र समग्र प्रथम,द्धितीय र तितृय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल,प्रमणपत्र र नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

भलिबलमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ६ हजार, ४ हजार पाँचसय र ३ हजार, कबड्डीमा प्रथम, द्धितीय र तृतीय हुनेलाई ४ हजार पाँचसय, ३ हजार र १ हजार पाँचसय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीलाई व्यक्तिगत १ हजार दुईसय देखि २ हजार रुपियाँ सम्म पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका पालिका सभापति इन्दुप्रकाश पौडेल, नेकपा एमालेका पालिका अध्यक्ष बाबुराम कार्की, माओवादी केन्द्रका यामबहादुर जिसी, विद्याज्योती माविका प्रअ रघुनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै उद्घाटन कार्यक्रममा पर्वत जिससका उपप्रमुख सोमबहादुर जिसी, वडाध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले मार्चपास गर्नुका साथै महिलाहरुले नौमती बाजा बजाएर स्वागत गरिएको थियो ।

लेखक : कृष्णबहादुर कार्की