Breaking News

गीतकार सरला श्रेष्ठले आफ्ना ५६ गीतको पुस्तक संग्रह ‘शारदा’ सार्वजनिक

काठमाडौं । गीतकार सरला श्रेष्ठले आफ्ना ५६ गीतको पुस्तक संग्रह ‘शारदा’ सार्वजनिक गरेकी छन् । काठमाडौंमा आयोजित समारोहमा अभिनेता मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्वबल्लभ, साहित्यकार विमल भौकाजी, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा लगायतले पुस्तकको विमोचन गरे ।

‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो । समारोहमा मासिकका प्रधान सम्पादक भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपिमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै गीतकार श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपिमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको बताइन् । समारोहमा उनले प्रकाशित गीत वाचन गर्दै विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिंडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीर मात्र विदेशमा रहेको, तर मन र मुटु सधैं स्वदेशमै रहेको बताइन् ।

समारोहमा एउटा युगल गीत ‘ए मेरो मनको राजा’को म्युजिक भिडियो समेत प्रिमियर गरियो । प्रमोद खरेल र अञ्जु पन्तको युगल स्वरको यो गीतमा कीर्ति न्यौपानेको संगीत छ । यो गीतको म्युजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेसनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।

समारोहमा अभिनेता मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे ।  श्रेष्ठले आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए ।

भौकाजीले श्रेष्ठका गीतको समीक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारको संख्या कम भएको भन्दै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकार श्रेष्ठको ठूलो खुबी भएको बताए ।

गीतकार संघ नेपालका अध्यक्ष थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमी संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत-संगीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं,’ उनले भने ।