७ मंसिर, विराटनगर । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको
हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार धार्मिक सभाका लागि भारतबाट आएकाहरुलाई सीमावर्ती रानी नाकाबाट भारत नै फर्काइएको छ । धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको उनले बताए । ‘सुनसरीमा हुने सभाका लागि भारतबाट आउनेहरुलाई नाकाबाट फर्काइरहेका छौं,’ उनले भने, ‘नाकामा सतर्कता बढाएका छौं ।’ अन्य कामका लागि आउजाउ गर्नेलाई भने रोकावट नरहेको उनले बताए ।
सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्म सभा ‘इज्तेमा’ गर्ने तयारी थियो । कार्यक्रमका लागि अस्थायी टहरा निर्माण गरिएको थियो । तर प्रशासनले अनुमति नदिएपछि सभा स्थगित भयो ।
कोशी प्रदेश सांसद तथा मुस्लिम अगुवा इस्राइल मन्सुरी देशको पछिल्लो परिस्थिति र प्रशासनको आग्रहपछि अहिलेलाई सभा स्थगित गरिएको बताए ।
उनका अनुसार धार्मिक सभाका लागि विदेशबाट केही धर्मगुरुहरु आइसकेका थिए । ती धर्मगुरुहरु सभा स्थगित भएकाले अब फर्किने उनले बताए । प्रहरी स्रोतका अनुसार पाकिस्तानबाट १५ जनाको टोली र बंगलादेशबाट आठ जनाको टोली नेपाल आएको थियो ।