काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताएका छन् ।
आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिहरूको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । उनले भने, ‘संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौँ, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।’
मङ्सिर ७ कै दिन एमालेले पनि आफ्नो युवा सङ्घमार्फत प्रदर्शनको कार्यक्रम तय गरिएकोलाई अध्यक्ष नेपालले गलत भएको बताएका छन् । उक्त दिनको कार्यक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूसहितका अन्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न बोलाएको जानकारी अध्यक्ष नेपालले दिए ।
भर्खरै चीन सरकारको निमन्त्रणामा त्यहाँका विभिन्न भूभागको भ्रमणका क्रममा चीन सरकारले गरेको स्वागत र सत्कारको उनले प्रशंसा गरे । ‘म यसअघि प्रधानमन्त्री हुँदा र पार्टी नेताकै हैसियतले चीन जाने गरेको थिएँ, तर यति महत्वका साथ स्वागत गरिएको थिएन ।’ उनले उक्त स्वागतलाई आफ्नो पार्टीप्रति चीन सरकार र त्यहाँको कम्युनिस्ट पार्टीले दिएको महत्वका रूपमा बुझ्नुपर्ने बताए ।
चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति दिएको ५० लाख युआन सहयोगमा आफ्नो पार्टीको भूमिका रहेको उल्लेख गर्दै उक्त रकम हस्तान्तरणका क्रममा प्रमुख चार दलका नेतालाई बोलाएको जानकारी दिए ।