प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परे अनुसन्धानमा श्रीमान पक्राउ

प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्।

नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा फेला परेका हुन्।

शुक्रबार राति आमा रिमाको शव फेला परेको हो। रिमाको शव फेला परेभन्दा केही मुन्ति शनिबार दिउँसो दुई बजे तिर छोरा मुस्कानको शव फेला परेको हो।

रिमा र मुस्कान कात्तिक २७ देखि हराइरहेका भनिएको थियो। उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए।

रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन्।

माइती पक्षबाट खबर पाएकै दिन दिउँसोदेखि बेपत्ता आमाछोराको खोजीमा प्रहरी गएको थियो।

भिर मुन्तिर खरबारीको कान्लोमा फेला परेको आमाछोराका शवमा घाउखत रहेको छ। तर चोट भिरबाट लडेर लागेको हो वा हत्या गरी कसैले खसालेको हो भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको छ।

रिमा र मुस्कानको शव फेला परेको स्थान उनीहरूको दैनिक प्रयोग हुने कामकाजी बाटो आसपास होइन। खरबारीमा शव फेला पर्नु शंकास्पद रहेको र आमाछोरा हिँड्दै गर्दा लडेको अनुमान गर्ने आधार नदेखिएको प्रहरीले बताएको छ।

घटना अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको छ ।