२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।
तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका(१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।