Breaking News

सर्वोच्च अदालतले जन्मकैदको सजाय मिनाहा बदर सँगै प्रहरीले रिगललाई खोज्न सुरु

काठमाडौं । नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोज्न सुरु गरेको छ ।

सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको छ ।

सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी सुरू गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।
उनले भने, ‘उनको खोजी सुरू गरिसकिएको छ, सकेसम्म छिटो नियन्त्रणमा लिई सम्बन्धित ठाउँमा बुझाउँछौ ।’

सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते आममाफी दिएका थिए । रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ ।