अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपि साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेका छन्।
मंगलबार भएको भेटमा उनीहरु बीच निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ।
सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरे।
निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखेका थिए।
साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ।