काठमाडौं । काठमाडौंको ठमेलमा थान्का र मुर्तीलगायतको कारोबार गर्छन्, किसनराज सिंह । नयाँ बजारका रैथाने सिंह अहिले बैंकिङ कसुर मुद्दामा थुनामा छन् । पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन मार्फत बैंकको रकम अपचलन गरेको मुद्दामा उनी थुनामा परेका हुन् ।
किसन राज सिंहले नेपाल एसबिआई बैंकको ठमेल शाखाबाट बैंकिङ कारोबार गर्नका लागि पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन लिएका थिए । बैंकले धेरै रकम कारोबार गर्नेहरुलाई त्यस्तो मेशिन उपलब्ध गराउँछ । तर, सिंहले रकम अपचलन गर्नकै लागि मेशिन लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
विदेशी नागरिकबाट लिएको मास्टर कार्ड र भिजा कार्ड मार्फत किशनराजले रकम निकाल्छन् । कार्डको विवरणमा कैफियत देखिएपछि भिजा र मास्टर कार्ड नेटवर्कले रिसल्भका लागि कागजात मागेर भेरिफाई गरेको थियो । तर, ग्राहकको पहिचान फर्जि देखिएपछि नोस्ट्रो एकाउन्टबाट मास्टर र भिजा कार्ड इस्यु गर्ने बैंकमा विदेशी नागरिकरको रकम फिर्ता गरिएको थियो ।
मास्टर कार्डमा ७० र भिजा कार्ड नेटवर्कमा कुल ९४ वटा कैफियत देखिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । फर्जी कारोबार गरेको पुष्टि भएपछि नेपाल एसबिआई बैंकको नोस्ट्रो एकाउन्ट बाट रकम सम्बन्धति बैंकमा फिर्ता गरिएको थियो । तर, एसबिआई बैंकको डिपोजिटबाट गएको सो रकम किसन राजले फिर्ता गर्न मानेनन् ।
त्यसपछि बैंकले उनीविरुद्ध सिआईबीमा जाहेरी दिएको थियो । बैंकको जाहेरीपछि सिंहलाई २०८० भदौ २७ मा पक्राउ गरिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।