Breaking News

इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार

इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गरेका छन्।

सोमबार तेल अविभमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै आतंकवादविरुद्ध आत्मसमर्पण नगर्ने बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

‘गजामा युद्धविरामको आह्वान गर्नु इसराइललाई हमाससामु आत्मसर्पणका लागि आह्वान गर्नु हो,’ नेतन्याहुले भने, ‘त्यसो गर्नु आतंकवादविरूद्धको आत्मसमर्पण हुनेछ।’

न्युयोर्क टाइम्सका अनुसार पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले हमासविरूद्धको लडाइँमा इसराइललाई समर्थन गर्न आग्रह समेत गरे।

गजामा मारिएका गैरसैनिक नागरिकहरूबारे प्रश्न गर्दा नेतन्याहुले यसको जिम्मेवार पनि हमास रहेको आरोप लगाए।

‘एक जना पनि नागरिक मर्ने थिएनन्,’ उनले भने, ‘नागरिकहरूलाई युद्धग्रस्त क्षेत्र छोड्न हमासले नै रोक्यो।’

इसरायलले गरेको हवाइ आक्रमण र जमिनबाट गरेको आक्रमणबाट गजामा ८ हजार भन्दा बढी नागरिकहरूको मृत्यु भएको छ। तीमध्ये महिला र बालबालिका बढी छन्।

गजामा मानवीय सहायता पुर्‍याउन त्यहाँ युद्धविराम हुनुपर्ने प्रस्ताव जोर्डनले आइतबार संयुक्त राष्ट्रसंघको महासभामा राखेको थियो।

उक्त प्रस्तावमा मतदान हुँदा नेपालसहित १२० राष्ट्रले पक्षमा मत दिएका थिए। अमेरिकासहित १४ मुलुकले विपक्षमा मतदान गर्दा ४५ देश मतदान प्रक्रियामा सहभागी नै भएनन्।

गजामा युद्धविराम हुनुपर्ने विषय संयुक्त राष्ट्रसंघमा बहुमतले पारित गरेपनि इसराइलले गजामाथिको आक्रमण रोकेको थिएन। उसले गजामा हवाइ आक्रमणलाई जारी राख्दै जमिनबाट पनि आक्रमण सुरू गरेको थियो।

न्युयोर्क टाइम्सका अनुसार इसराइली सैनिकले ‍पूर्व, उत्तरपूर्व र उत्तरपश्चिमी क्षेत्रका जमिनबाट गजामा प्रवेश गरी आक्रमण गरेका छन्। त्यहाँ इसरायली सेनाका बंकर प्रवेश गरिरहेका फोटो र भिडिओ सार्वजनिक भइरहेका छन्।

अक्टोबर ७ (असोज २०) गते शनिबार हमासले इजरायलमाथि आक्रमण गरेको थियो। हमासको आक्रमणमा इजरायलमा १ हजार ४ सय जनाको मृत्यु भएको मिडिया रिपोर्टहरूमा उल्लेख छ। उक्त आक्रमणमा परी १० जना नेपालीले पनि ज्यान गुमाएका छन्।

त्यसयता इसराइलले लगातार गजामा आक्रमण गरिरहेको छ।

एजेन्सी