भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गरेका हुन् ।
उनीसँग प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन्। भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह् पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे ।
मल्लकालदेखि राजा महाराजाहरूले नवदुर्गाको पूजाआजा गर्दै आएपनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ । तर २०४५ मा भूकम्प आएपछि दैवीप्रकोपका घट्नाले गर्दा देश र जनताको हित, कल्याणका निमित्त तत्कालीन राष्ट्र प्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको जानकारी मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले दिए ।
यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नव देवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाइ तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइके नरेन्द्र प्रसाद जोशीले प्रदान गरेका थिए ।
बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।