Breaking News

युद्ध सुरु हुनु अघिकोे गाजा र युद्ध पछिको गाजा क्षेत्र

बीस दिनअघि अक्टोबर ७ मा अतिवादी समूह हमासले प्यालेस्टिनको गाजा पट्टीबाट इजरायलमाथि आक्रमण सुरू गरेको थियो।

समुद्र, जमिन र आकाशबाट एकसाथ गरिएको उक्त आक्रमणमा परेर एकैदिन १ हजार ४ सयभन्दा बढीको ज्यान गयो भने दुई सयभन्दा बढीलाई गाजामा बन्दी बनाइयो।

त्यसयता इजरायलले हमासविरूद्ध गाजा पट्टीमा जवाफी हमला सुरू गरेपछि अहिलेसम्म पाँच हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ। लाखौं व्यक्ति सुरक्षित स्थलको खोजीमा थातथलो छाडेर हिँडेका छन्।

यसबीच यो युद्धका कारण गाजा पट्टी कति भयावह खण्डहरमा परिणत भयो भन्ने हालै सार्वजनिक स्याटलाइट तस्बिरबाट देखिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले गाजाको उत्तरी भागमा अक्टोबर १० मा लिइएको स्याटलाइट तस्बिर र त्यसको ११ दिनपछि त्यही ठाउँमा खिचिएको स्याटलाइट तस्बिर सार्वजनिक गरेको छ। यी दुई तस्बिरले युद्धले सिर्जना गर्ने भयंकर परिणाम उजागर गर्छ। इजरायली सुरक्षा फौजले गएको रात पनि उत्तरी गाजा पट्टीमा ट्यांक प्रयोग गरेर ‘टारगेटेड छापामार’ हमला जारी राखेको जनाएको छ।

यो युद्ध सुरू भएयता इजरायलले गरेको यस किसिमको पहिलो कारबाही होइन। यसअघि अक्टोबर १३ मा पनि इजरायली ट्यांकहरू गाजा पट्टीमा प्रवेश गरेका थिए।

गएको रातको हमलाबाट हमासका थुप्रै आधार क्षेत्र ध्वस्त पारेको इजरायली फौजले दाबी गरेको छ। कारबाहीपछि ट्यांकहरू सुरक्षित फर्केको पनि इजरायलले जनाएको छ।

यसबीच संयुक्त राष्ट्रसंघले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ।

राष्ट्रसंघका अनुसार गाजामा इजरायली हवाई हमलाहरू बढिरहेका छन्। अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजरायलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसँग केही विकल्प बाँकी नरहेको राष्ट्रसंघले जनाएको छ।

‘गाजा कतै पनि सुरक्षित छैन,’ प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका मानवीय संयोजक लिन हेडसनले भने।