भारतमा लकडाउनलाई दुई हप्ता बढाउने तयारी

४ जेठ, काठमाडौं । एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम भारतमा नरोकिएपछि भारतीय सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा हिजो शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ ।’ तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले बन्दाबन्दीबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्णयलाई प्रधानमन्त्री आँफैले सार्वजनिक गर्नुहुनेछ ।

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।