Breaking News

समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै

दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।

एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे ।

जनताका कुरा सुन्न र उनीहरुको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उनको विश्वास थियो । ‘अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग जोड्न भूमिका खेल्नेछ’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा जनतालाई बुझाउँदै समाजवादी पार्टी निर्माणको अभियानमा जोडिन सबैलाई आग्रहसमेत गरे ।

अब नेपालमा समाजवादी कम्युनिष्ट भन्दा अरुको विकल्प नभएको भन्दै पार्टीलाई जिल्ला–जिल्ला, नगर–गाउँ–गाउँसम्म पु¥याउने अभियानको लक्ष्य रहेको बताए ।

यसैगरी, उनले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्न मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको पनि बताए । सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताए।

कार्यक्रममा नेकपा समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको विकासका लागि कृषि क्षेत्रको विकास हुन आवश्यक रहेको बताए।

कृषि क्षेत्रको विकास बिना देशको विकास सम्भव नहुने र युवा जनशक्ति विदेशीने क्रम नरोकिने बताए । उनले देशमा कृषि क्रान्ति गर्न र युवालाई देश रोक्ने वातावरण निर्माण गर्न किसानलाई सहकारीका माध्यमबाट संगठित गर्दै कृषिको विकासमा लगाउन आवश्यक रहेको बताए ।

राज्यले किसानलाई मल, बीउ, प्राविधिक जनशक्तिसँगै उत्पादन भएको अन्य तथा तरकारी स्टोरका लागि कोल्डस्टोर देशका ठाउँ–ठाउँमा निर्माण गरेर सहयोग गर्न आवश्यक रहेको बताए ।

नेता खनालले संविधानले नेपाली जनतालाई हक दिए पनि अझै धेरै विभेद कायम रहेको भन्दै हिजोको सामन्ती वर्गको शोषण अन्त्य भए पनि अहिले पूँजीपति वर्गले गरिव वर्गलाई शोषण गरिरहेको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दासम्म देशको आर्थिक समृति नहुने बताए ।

अध्यक्ष माधवकुमार नेपाल