Breaking News

कोशी प्रदेशमा नयाँ सरकार गठनका पाँच दिनको समय आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले बिश्वासको मत नपाउने भएपछि आज बसेको प्रदेश सभा बैठकमा आफुले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको बताए पछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका पाँच दिनको समयको आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । शनिबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएका थिए ।

विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य (४७) सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलले राप्रपासमेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत थालेका छन् ।