Breaking News

काठमाण्डौंका अस्पतालमा १३ कोरोना संक्रमितको उपचार हुँदै

३ जेठ, काठमाडौं । नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् ।

टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालका अधिकारीहरुले जनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र शिक्षण अस्पतालकै एक कर्मचारीको उपचार भइरहेको त्यहाँका चिकित्सक डा. सन्तकुमार दासले जानकारी दिए । दाङ घर भएका शिक्षण अस्पतालका कर्मचारीमा शुक्रबार संक्रमण देखिएको थियो ।

एपीएफ अस्पतालमा दहचोकका ७ वर्षका बालक र अस्पतालमै कार्यरत कर्मचारी उपचाररत रहेका त्यहाँका चिकित्सक डा. महेन्द्रराज श्रेष्ठले जानकारी दिए । पछिल्लो समय काठमाडौंको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।
समाचार सेतोपाटीबाट