१७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी अहिले मेचीकाली समाजवादी जागरण अभियानमा रहेको छ । यसै क्रममा जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका छन् । अझ राम्रा काम गर्नका लागि सहयोग सँगसँगै दबाव पनि दिनुपर्ने बताए ।
सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए ।
अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने बताउँदै उनले भने, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन ।’
एकीकृत समाजवादी मात्र नभइ नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको उनको भनाइ छ ।
‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा जी उहाँहरु यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यही सरकारलाई अघि बढाउने पक्षमा छौं,’ नेता नेपालले भने, ‘हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं । यो सरकारको खुट्टा तान्न चाहँदैनौं । यो सरकारलाई हामी असहयोग गर्न चाहँदैनौं ।’