काठमाडौँ । आज दिउसो बझाङमा चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन् । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएका छन् । ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षतिको कुनै विवरण आइसकेको छैन ।
यद्यपि ग्रामीण क्षेत्रमा ठाउँठाउँमा घरहरु भत्किएको खबर आएको छ । तर हालसम्म मानवीय क्षतीको कुनै विवरण भने आइसकेको छैन ।
स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेका छन् ।