काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।
लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए ।
‘दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो’, प्रवक्ता भुलले भने ।
हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ ।
तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।