Breaking News

अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच चार बुँदे सहमति

१० असोज, काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति जुटेको छ ।

आज अपराह्न ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच भएको वार्तापछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार, फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्नेछ ।

फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने सहमति पनि भएको छ ।

‘अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थल उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्थाको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव’ दिने गरी अध्ययन समिति बनाउने भनिएको छ ।

समितिमा महानगरपालिकाले तोकेका ३ जना, अभियानकर्ता ईस् का तर्फबाट दुई प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एकरएक जना प्रतिनिधि रहने भनिएको छ ।

सहमति पत्रमा काठमाडौं महानगरबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन र मेयरका सचिवालयका धिरज जोशी र अभियानकर्ताका तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् । सहमतिपछि ईस् ले काठमाडौं महानगरले सडक व्यवसायीको अस्तित्व स्वीकार गरेको बताए ।

सहमति जुटेपछि बुधबार राति साढे ९ बजे ईः ले प्रदर्शन स्थगित भएको घोषणा गरेका छन् ।