६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।
शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको हो ।
विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको नामावली सार्वजनिक गरिएको हो ।
शुक्रबार झापाबाट दुई जना प्रतिनिधि फरकफरक माइन्युटसहित आएपछि विवाद भएको थियो । विवादका कारण उनीहरू दुवै जनाले मतदान गर्न नपाउने भएका हुन् ।
चुनावी प्रक्रिया केहीबेरमा सुरु हुनेछ । ८ ः ४० मा उम्मेदवारको मनोनयन, ११ः २० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११ः ४० बजे उम्मेदवारको मनोनयम उपर उजुरी र छानबिन हुने कार्यतालिका रहेको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।
क्यानको नेतृत्वका लागि यसपटक पनि चतुरबहादुर चन्दले दाबी गरेका छन् । उनले सर्वसम्मत हुन खोजे पनि लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पनि यसपटक पदाधिकारीका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।