Breaking News

एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतलाई

काठमाडौं । एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतले जितेको छ । आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौंपटक एसिया कप च्याम्पियन भएको हो ।

भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो । एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो । श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पार ग¥यो । भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे । त्यसअघि कोलम्बोमा टस जितेर पहिलो ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो ।

श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए । करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए ।

यस्तै, हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे । श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए ।
सिराजले चौथो ओभरमा चार विकेट लिएका थिए । उनले सो ओभरको पहिलो बलमा पाथुन निशंकालाई २ रनमा रविन्द्र जडेजाबाट क्याच गराएका थिए ।

चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए । यस्तै छैटौं बलमा धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए ।

श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो । उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए । श्रीलंकाले चौथों ओभर सकिदा ५ विकेट गुमाउँदा सुरुवातै संकटमा परेको थियो ।