Breaking News

भोलि हरितालिका तीज : आज दर खाएर मनाइँदै

३१ भदौ, काठमाडौं । भोलि हरितालिका तीज । आज दर खाएर मनाइँदै छ । दर खाने दिन आज परिवार, इष्टमित्र र छिमेकी तथा साथीभाइहरु भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

दर खाएको भोलिपल्ट भोलि (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

हरितालिका तीजको अघिल्लो दिन (एक दिन मात्र) दरखाने परम्परा रहे पनि ग्रामीण तथा शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । साथै विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पुरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी पूजा शिवको पूजा गर्ने चलन छ । तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।

पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ ।