Breaking News

फिल्म ‘रंगेली’ को छायांकन सुरू

दयाहाङ राई र मिरूना मगरको अभिनय रहने फिल्म ‘रंगेली’ को छायांकन सुरू भएको छ।

सुनसरीको इटहरीमा फिल्मको पहिलो शट लिँदै छायांकन सुरू गरिएको हो। पहिलो शट कलाकार शेखर चापागाईंले दिएका थिए। फिल्मको छायांकन रंगेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा गरिने निर्देशक अर्जुन सुवेदीले जानकारी दिए।

सोमबार मोरङको रंगेलीस्थित काली मन्दिरमा शुभ मुहूर्त गरिएको थियो। मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएनन्।

फिल्मको शुभ मुहूर्तमा उपस्थित नभएपनि छायांकनको तालिका अनुसार कलाकार पुग्नेछन्। फिल्मका कलाकार व्यस्त रहेको बताउँदै निर्माता जीतेन्द्र खतिवडाले भने, ‘दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भइरहनुभएको छ। मिरूनाजी पनि अर्को फिल्मको प्रचारमा समय दिइरहनु भएको छ। हामीले सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौं।’

अभिनेता प्रवीण खतिवडाको छायांकन सुरू भएको छ। अर्पण थापा, मिरूना मगर र रमेश बुढाथोकी बुधबार छायांकन स्थल पुग्नेछन् भने दयाहाङ राई अर्को हप्ता पुग्नेछन्। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन्।

अर्जुन सुवेदी लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहनेछ।

यो फिल्म २०८० सालको फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।