काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव आज रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा एक जनाले उनीमाथि खुकुरी प्रहार गरेका छन् । आक्रमणकारी श्याम बहादुर सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरिएको सोधपुछका क्रममा उनले रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका हुन् ।
आक्रमणअघि क्लबमा भएको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए । कार्यक्रममा उनी भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेको देखिएका छन् । उनले यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका
थिए । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । खतरामुक्त अवस्थामा रहेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
आक्रमणपछि उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए ।