हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेश प्रदेश सभा सदस्य अनिरूद्धकुमार सिंह यादव जेल चलान

हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेश प्रदेश सभा सदस्य अनिरूद्धकुमार सिंह यादव जेल चलान भएका छन्।

मंगलबार सप्तरी जिल्ला अदालतको थुनछेक आदेशपछि प्रदेश सांसद यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार उनलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाइएको छ।

यादव सप्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका थिए।

२०६४ सालमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या आरोपमा फरार सूचीमा रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याइ पाँच गोली हानी चौधरीको हत्या गरिएको थियो। सो मुद्दाका अभियुक्त सांसद यादव अदालतमा बयान समेत नदिई यादव फरार भएका थिए।

मृतककी दिदी रिताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत ९ जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन्।